HIV/AIDS

एचआईभीएड्स

  

ह्युमन इम्युनोडेफिशियन्सी भाइरस (एचआईभी) ले प्रतिरक्षा प्रणालीलाई बिस्तारै कमजोर बनाउँछ र अन्य रोगहरूबाट आफूलाई बचाउने तपाईंको क्षमतालाई कम गर्छ। एक्वायर्ड इम्युनोडेफिशियन्सी सिन्ड्रोम (एड्स) एचआईभी संक्रमणको पछिल्लो चरण हो जसमा रोग प्रतिरोधात्मक क्षमता यति घटेको हुन्छ कि व्यक्तिले अन्य रोगहरूबाट विशेष जटिलताहरू विकास गर्छन्, जसलाई अवसरवादी संक्रमण पनि भनिन्छ। एड्सको विकास हुन लाग्ने समय व्यक्तिपिच्छे फरक-फरक हुन्छ, र यो द्रुत गतिमा बढ्न सक्छ वा धेरै वर्ष पनि लाग्न सक्छ।
एचआईभी संक्रमणको सामान्य मार्ग भनेको यौन क्रियाकलापको समयमा वीर्यबाट्, योनि स्रावबाट, रगत वा आमाबाट बच्चामा संक्रमण हुनसक्छ। नियमित दैनिक जीवन, काम वा स्कूलको दिनचर्यामा संक्रमण हुने जोखिम छैन।

एकपटक एचआइभी सङ्क्रमित भएपछि शरीरबाट भाइरस हटाउन सम्भव हुँदैन, तर यदि एन्टिभाइरल औषधिहरू (एन्टीरेट्रोभाइरल थेरापी वा एआरटी) लिने हो भने यसले रगतमा भाइरसको मात्रा घटाउन सक्छ र यसलाई नियन्त्रण गरेर जटिलताहरूको जोखिम कम हुनेछन् र एचआईभी भएका व्यक्तिले सामान्य जीवनशैली बाँच्न सक्छन्। यसका साथै उनीहरुको रगतमा कुनै भाइरस नभएकाले उनीहरुले अरुलाई संक्रमण गराउन सम्भव हुने छैन । तसर्थ, एचआईभी संक्रमित सबैको लागि उपचार दृढतापूर्वक सिफारिस गरिन्छ। एचआईभी संक्रमणको प्रारम्भिक निदान र यसको उपचार चाँडै गर्न धेरै महत्त्वपूर्ण छ।

 http://www.acc.go.jp/information/mhlwinfo/surveillance.html

एचआईभी संक्रमण कसरी रोक्न सकिन्छ ?

संक्रमणको सबैभन्दा सामान्य मार्ग यौन सम्पर्क मार्फत हो। एचआईभी वीर्य र शरीरको तरल पदार्थमा हुन्छ। संक्रमणको जोखिम कम गर्न कण्डमको प्रयोग धेरै प्रभावकारी हुन्छ। वयस्कहरूमा, एचआईभी सर्ने मुख्यतया योनि र मलद्वारबाट हुन्छ तर विरलै मौखिक मार्गबाट हुन्छ। यद्यपि, घाउ भएको बेला मुखको बलगमले सर्ने जोखिम हुन सक्छ र मुखमैथुनका लागि पनि कण्डमको प्रयोग सिफारिस गरिन्छ।
एचआईभी संक्रमणबाट बच्न यौन गतिविधि अघि एन्टिभाइरल औषधिहरू प्रयोग गर्ने विधि छ, तर जापानमा, यसलाई हाल राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमले समर्थन गर्दैन र त्यसैले महँगो छ। एन्टिभाइरल औषधिहरू लिनुको अलावा, एचआईभीको बारेमा विशेष ज्ञान भएको डाक्टरको मार्गदर्शनमा एकै समयमा एचआईभी र औषधिको साइड इफेक्टको जाँच गराउनु धेरै महत्त्वपूर्ण छ।

यु=यु भनेको के हो ?

यु=यु को अर्थ "पहिचान गर्न नसकिने र अप्रसारित" हो
एचआईभीसँग बाँचिरहेकाहरूमा यदि रगतमा भाइरसको स्तर पत्ता लगाउन सकिने दायरा भन्दा कम छ, र यो भाइरल लोड नियन्तृत छ भने यो यौन सम्पर्कबाट पनि सर्ने सम्भावना हुँदैन।
यु=यु ले एचआईभीको अवस्था छिट्टै पत्ता लगाउने र भाइरल लोडलाई छिट्टै दमन गर्न तुरुन्तै उपचार सुरु गर्नु एचआईभीको प्रकोप अन्त्य गर्न अत्यावश्यक हुनेछ भनी विस्तार गर्दछ। यो अन्तर्राष्ट्रिय अभियान एचआईभी कलंक र भेदभाव कम गर्न विश्वव्यापी नारा बनेको छ, र एचआईभी संक्रमित व्यक्तिहरूले पनि यौनसम्पर्क सहित सामान्य जीवन बिताउन सक्छन् भनेर देखाउँदछ।

पेप भनेको के हो ?

पेप को अर्थ "पोस्ट एक्सपोजर प्रोफाइलेक्सिस" हो। यो एक उपचार कार्यक्रम हो जुन सम्भावित रूपमा एचआईभीको सम्पर्कमा रहेका र/ वा संक्रमित हुने उच्च जोखिम भएकाहरूका लागि प्रयोग गरिन्छ। एचआईभी संक्रमणको जोखिम कम गर्नको लागि एक्सपोजर पछि ७२ घण्टा भित्र पेप लिनु पर्छ। आफ्नो यौन साथीलाई एचआईभी भएको थाहा भएमा वा चिकित्सकहरु जसलाई कामको समयमा सुईको चोटको कारण दुर्घटनावश संक्रमण को सम्पर्कमा आएको बेलामा जस्ता केसहरू पेप लिने विचार गरिनु पर्ने केसहरू हुन्।
एक पटक पेप औषधि सुरु गरिसकेपछि, यसलाई जारी राख्नुपर्छ र २८ दिनसम्म पूरा गर्नुपर्छ।

पेप कसले लिन सक्छन ?

यदि तपाईंले एचआईभी संक्रमणको उच्च जोखिम भएको (जस्तै कण्डम बिना सेक्स) वा एचआईभी हुन सक्ने व्यक्तिसँग यौन क्रियाकलाप गर्नुभयो भने, तपाईं एक्सपोजर पछि ७२ घण्टा भित्र पेप को लागि योग्य हुन सक्नुहुन्छ।

पेप लिने प्रक्रिया र अवधि के हो ?

पेप ले एचआईभी पोजिटिभ भएका मानिसहरूले जस्तै उपचार प्रयोग गर्छ, जसलाई एन्टी-रेट्रोभाइरल थेरापी (एआरटी) भनिन्छ। यस उपचारमा ३ प्रकारका औषधिहरू समावेश छन् जुन २८ दिनसम्म लिनुपर्छ।
पेप सुरु गरेपछि, तपाईंले वाकवाकी र बान्ता जस्ता साइड इफेक्टहरू अनुभव गर्न सक्नुहुन्छ। केहि अवस्थामा, तपाईले एलर्जी प्रतिक्रिया देखाउन सक्नुहुन्छ वा कलेजो र मृगौलाका कार्यहरूमा कमि आउन सक्छ। दबाइहरुको गम्भीर साइड इफेक्टहरु जाँच गर्नको लागी १४ दिन पछि एक फलोअप महत्वपूर्ण छ। त्यसपछि, तपाईंलाई बाँकी १४ दिनको औषधिहरू दिने कुरा निर्धारित गरिनेछ।
पेप को लागि एआर्टी को प्रिस्क्रिप्शन हाल जापानमा स्वीकृत छैन। यो राष्ट्रिय स्वास्थ्य बीमा अनुदानमा पर्दैन, र त्यसैले, उपचार प्राप्त गर्न, बिरामीले औषधि, परामर्श र परीक्षण गर्न शुल्क तिर्नुपर्छ।

प्रेप के हो ?

प्रि-एक्सपोजर प्रोफाइलेक्सिस (प्रेप्) एक रोकथामको उपाय हो जसले तपाईंलाई एचआईभी संक्रमित नभए पनि एन्टिभाइरल औषधिहरू लिएर एचआईभी संक्रमणको जोखिम कम गर्छ।
नियमित यौन क्रियाकलापका लागि औषधिलाई रोकथामका रूपमा सबैले लिनु आवश्यक छैन, तर यो धेरै उच्च जोखिमको अवस्थामा प्रभावकारी विधि हो। यसले एचआईभीबाट १००% सुरक्षाको ग्यारेन्टी गर्दैन; त्यसैले यौन क्रियाकलाप गर्दा कण्डमको पनि प्रयोग गर्न सिफारिस गरिन्छ।
हाल एन्टिभाइरल औषधिहरू दुई प्रकारका छन् जुन प्रेप को लागि व्यापक रूपमा प्रयोग भइरहेको छ। प्रेप र औषधिहरू लिने विभिन्न विधिहरू अझै विकासमा छन्, र हामी भविष्यमा विभिन्न विधिहरूको आशा गर्न सक्छौं।

प्रेप कस्को लागि सिफारिस गरिएको छ ?

हाल एचआईभी संक्रमित नभएका र एचआईभी संक्रमणको जोखिममा रहेकाहरू प्रेप को लागि योग्य छन्।
यदि तपाइँ एचआईभी संक्रमित साझेदार सँग बस्नुहुन्छ जसले उपचार पाएको छैन, भर्खरै एसटीआई भएको छ, र यौन क्रियाकलापको क्रममा कण्डम प्रयोग गर्नु हुन्न तपाइँमा एचआईभी संक्रमणको उच्च जोखिम रहेको मानिन्छ, र तपाइँलाई प्रेप को लागी उपयुक्त मानिन्छ।
यौनमा सक्रिय सबैलाई प्रेप लिनु आवश्यक छैन। कृपया पहिले नै डाक्टरसँग जोखिम पुष्टि गरेपछि प्रेप सुरु गर्नुहोस्।

प्रेप लिँदा अप्नाउनु पर्ने सावधानीहरू

कुनै पनि यौन गतिविधि (एक्सपोजर अघि) अघि औषधि लिन आवश्यक छ। यदि तपाईंले औषधि लिन बिर्सनुभयो वा गलत तरिकाले लिनुभयो भने, तपाईंले पर्याप्त प्रभाव पाउनुहुनेछैन।
यसलाई डाक्टरको निर्देशनमा लिन निश्चित हुनुहोस्। थप रूपमा, प्रेप ले एचआईभीबाट १००% सुरक्षाको वाचा गर्दैन र तपाईंलाई अन्य STIs बाट जोगाउँदैन। प्रेप सँग-सँगै यौन क्रियाकलाप गर्दा कण्डमको पनि प्रयोग गर्न सिफारिस गरिन्छ।
जब तपाइँ प्रेप लिन छोड्ने योजना बनाउनुहुन्छ, कृपया आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस्। एन्टिभाइरल औषधिको साइड इफेक्ट र तपाईंको एचआईभी स्थिति जाँच गर्न नियमित रूपमा मेडिकल संस्थामा जानुहोस्। यदि तपाईंले आफ्नो विवेकमा औषधि लिनुभयो भने, त्यहाँ गम्भीर जटिलताहरू पत्ता नलाग्ने, र वा एचआईभीको औषधिको प्रतिरोधात्मक शक्ती घट्ने र औषधिहरू प्रभावहीन हुने जोखिम हुन्छ। निवारक उद्देश्यका लागि एन्टिभाइरल औषधिहरू लिनुलाई जापानमा अझै स्वीकृत गरिएको छैन, त्यसैले, धेरै भन्दा धेरै मानिसहरूले अनलाइन खरिद गरेर वा व्यक्तिगत रूपमा आयात गरेर प्रेप औषधिहरू प्राप्त गरिरहेका छन्। यो चिकित्सकीय रूपमा उपयुक्त छैन। कृपया पहिले नै आफ्नो डाक्टरसँग परामर्श लिने निश्चय गर्नुहोस्।

एचआईभी परीक्षण कसरी प्राप्त गर्ने

एचआईभी संक्रमणको पहिलो, तीव्र चरणमा, उच्च ज्वरो र दागहरू जस्तै लक्षणहरू पहिलो २ देखि ६ हप्तामा देखा पर्न सक्छन्, तर लक्षणहरू चाँडै गायब हुन्छन् र संक्रमण प्रायः बेवास्ता गरिन्छ। यदि तपाइँमा कुनै लक्षणहरू छैनन् भने पनि, यदि तपाइँसँग कुनै चिन्ताको विषय छ भने परीक्षण गर्न महत्त्वपूर्ण छ।

राष्ट्रव्यापी अधिकांश सार्वजनिक स्वास्थ्य केन्द्रहरूमा एचआईभी परीक्षण निःशुल्क र गोप्य रुपमा गरिन्छ। प्रयोगशालाहरूले "उही दिन परीक्षण" गर्न सक्छन् ताकि परिणामहरू एकै दिनमा थाहा पाउन सकिन्छ। हालै, मेल-इन टेस्ट किटहरू प्रयोग गरेर एचआईभी परीक्षण विश्वव्यापी रूपमा उपलब्ध भएको छ।

तपाईंले मेडिकल संस्थामा पनि एचआईभी परीक्षण गराउन सक्नुहुन्छ। एकैपटकमा एकभन्दा बढी यौनजन्य संक्रमण हुन सक्छ। कृपया सक्रिय रूपमा हेरचाह खोज्नुहोस् र थप जानकारीको लागि चिकित्सा सुविधा भ्रमण गर्नुहोस्।

घोषणा

हाल चलिरहेको कोविड्-१९ महामारीको लागि लिइएका उपायहरूको कारण, नियमित परीक्षण साइटहरू सञ्चालन नहुन सक्छ। यदि तपाइँसँग कुनै चिन्ताको विषय छ र एचआईभी परीक्षण गराउन चाहनुहुन्छ भने, कृपया सार्वजनिक स्वास्थ्य केन्द्रको वेबसाइटमा जानुहोस् र भ्रमण गर्नु अघि सञ्चालनका दिनहरू र समयहरु जाँच गर्नुहोस्।